कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षबारे भोलि टुंगो लगाउने
काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनमा प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको छ । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ ।
राष्ट्रिय सभाको अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना रहेकाले उपाध्यक्ष महिला हुनुपर्नेछ । जसका लागि कांग्रेसले कमला पन्त र दुर्गा गुरुङमध्ये एकलाई उम्मेदवार बनाउने तयारी गरेको हो । उनीहरु दुईमध्ये राष्ट्रिय सभाको उपाध्यक्षमा कस्ले उम्मेदवारी दिने भन्ने बारे भोलि टुंगो लाग्ने भएको छ ।
उपाध्यक्षको निर्वाचनको विषयमा छलफल गर्न कांग्रेसले शनिबार प्रतिपक्षी दलको बैठक समेत बोलाएको थियो । छोटो समय बसेको बैठकमा यसबारे प्रारम्भिक छलफल भएको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिएका थिए ।
आइतबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पार्टीको पदाधिकारी बैठक बसेर यसबारे निर्णय लिने उनले बताए । यसअघि माओवादीबाट शशिकला दाहाल राष्ट्रिय सभा उपाध्यक्ष थिइन् । सो पदका लागि आगामी माघ २३ गते सोमबार निर्वाचन हुँदैछ ।
