राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते गर्ने घोषणा गरेको छ । आयोगले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो ।
त्यस्तै, आयोगले उपराष्ट्रपति पदको निर्वाचन भने चैत्र ३ गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने बताए ।
उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्नेगरी आवश्यक तयारी गर्ने प्रयास गरेपनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौंमा नै हुने बताए ।
उनका अनुसार, राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन १० गते, दाबी, विरोध, उजुरी लगायतका कामहरू १० र ११ गते, निवेदन तथा उजुरी उपर छानबिन गर्ने ११ र १२ गते कार्यसूची रहेको छ ।
त्यस्तै, आयोगले अन्तिम मतदाता नामावली प्रकाशित गर्ने १२ गते र उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने १३ गते कार्यक्रम रहेको छ ।
त्यस्तै, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने १३ गते साँझ, उम्मेदवारको विरुद्धमा उजुरी दिने १४ गते, मनोनयन र उजुरीमा छानबिन गरी निर्णय गर्ने १४ र १५ गते, उम्मेदवारको नामावली प्रकाशित गर्ने १५ गते साँझ, उम्मेदवारले नाम फिर्ता लिने १६ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने १६ गत साँझ र मतदान गर्ने २५ गते रहेको आयोगले जनाएको छ ।