देशको राजनीति भद्रगोल र डामाडोल हुन लाग्यो : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको राजनीति भद्रगोल र डामाडोल हुन लागेको बताएका छन् ।
पार्टीको संगठन विभागद्वारा काठमाडौंमा आयोजित उपत्यका स्तरीय संगठन सुदृढीकरण अभियानको तयारी बैठकमा थापाले यस्तो बताएका हुन् ।
उनले निर्वाचन सकिएर नयाँ सरकार गठन भएको केही महिना नबित्दै जनतामा वितृष्णा देखिनुलाई शुभ संकेत मान्न नसकिने बताए ।
शान्ति र समृद्धिको आम जनताको चाहना पूरा हुनेमा जनतामा आशंका सुरु भएको उनको भनाई छ । थापाले हिन्दु राष्ट्रको पुनर्स्थापना, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्याको समाधान र सुशासनको निमित्त जनता सडकमा ओर्लिनु पर्ने बताए ।