नेपाली कांग्रेसको नीति महाधिवेशन बैशाखमा

काठमाडौं । नेपाली कांग्रेसले २०८० साल बैशाखमा नीति महाधिवेशन गर्ने भएको छ । नेतृत्व चयनका लागि १४ औं महाधिवेशन सम्पन्न भएको झण्डै डेढ वर्षपछि कांग्रेस नीति महाधिवेशन गर्न लागेको होे ।
१४ औं महाधिवेशनका बेला नेताहरुले ६ महिनापछि नीति महाधिवेशन गर्ने घोषणा गरेका थिए । नीति महाधिवेशनमार्फत कांग्रेस नयाँ कार्यक्रमका साथ जनतामाझ पुग्ने तयारी भइरहेको महामन्त्री गगन थापाले बताए ।
‘यही फागुन ७ गतेभित्र भातृसंस्थाले पूर्णता पाउँछन् । पार्टी संगठन व्यवस्थित बनाएपछि नीति महाधिवेशन हुन्छ । वैशाखमा नीति महाधिवेशन गर्ने तयारी भइरहेको छ’, महामन्त्री थापाको भनाइ छ ।
गत वर्ष मंसिरको अन्तिम साता भएको १४ औं महाधिवेशन केन्द्रीय कार्यसमिति चयनमा सीमित भएको थियो । संवैधानिक बाध्यताले च्यापेपछि नेतृत्व चयन गरेर कांग्रेस महाधिवेशन सकिएको थियो । पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गर्ने पर्ने संवैधानिक बाध्यताका कारण कांग्रेसले नीतिमाथि बहस गर्न पाएको थिएन ।