यातायातका शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । यातायात व्यवस्था कार्यालय, सुकेधाराका पूर्व निमित्त प्रमुख गणेशप्रसाद पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेलमाथि गैरकानूनी सम्पत्तिआर्जन गरेको आरोपमा १ करोठ ६ लाख रुपैंया विगो मागदावीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चावहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख पोखरेल हाल राष्ट्रिय भूमि आयोग, ताहाचलमा कार्यरत छन् । उनी शाखा अधिकृत स्तरका कर्मचारी हुन् ।
२०४६ असोज १ मा सेवा प्रवेश गरेका उनीमाथि उजुरी परेपछि अख्तियारले २०७८ फागुन १५ गतेसम्मको सम्पत्ति जाचबुझ गरेको थियो । त्यसक्रममा उनले ४ करोड ३७ लाख रुपैंया सम्पत्ति जोडेको भेटिएको हो ।
छानविन हुँदा उनले ३ करोड ३१ लाख रुपैंयामात्रै कानूनी रुपमा आर्जन गरेको खुल्न आएको हो । स्रोत नखुलेको सम्पत्ति जफत हुनुपर्ने माग राखी अख्तियारले मुद्दा दायर गरेको हो ।
अख्तियारले उनकी श्रीमती विमला न्यौपाने पोखरेललाई पनि मुद्दामा प्रतिवादी बनाएको छ ।