निर्वाचनका लागि देशभर २ लाख १३ हजार कर्मचारी परिचालन हुने
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले देशभर करिब २ लाख १३ हजार कर्मचारी परिचालन गर्ने तयारी गरेको छ। आयोगका अनुसार मतदान केन्द्रदेखि केन्द्रीय कार्यालयसम्म आवश्यक जनशक्ति व्यवस्थापनको काम अघि बढिसकेको छ।
निर्वाचनका क्रममा देशभरका १६५ निर्वाचन क्षेत्र र २३ हजार ११२ मतदान केन्द्रमा कर्मचारी खटाइनेछ। यसका लागि केन्द्रीय कार्यालयसहित ७७ मुख्य निर्वाचन अधिकृत कार्यालय, ८८ निर्वाचन अधिकृत कार्यालय, ७० जिल्ला निर्वाचन कार्यालय र ७ प्रदेश निर्वाचन कार्यालयमा जनशक्ति व्यवस्थापन गरिने आयोगले जनाएको छ।
मुख्य निर्वाचन अधिकृत कार्यालयको नेतृत्व जिल्ला न्यायाधीशले गर्ने व्यवस्था गरिएको छ। त्यस्तै, निर्वाचन अधिकृत कार्यालयमा न्याय सेवाका उपसचिवसरहका कर्मचारी, जिल्ला निर्वाचन कार्यालयमा शाखा अधिकृतसरह तथा प्रदेश निर्वाचन कार्यालयमा उपसचिवसरहका कर्मचारीले नेतृत्व गर्नेछन्।
मतदाता संख्याका आधारमा मतदान केन्द्रमा खटिने कर्मचारी संख्या निर्धारण गरिएको आयोगले जानकारी दिएको छ। ५०० सम्म मतदाता रहेका मतदान केन्द्रमा ८ जना र ५०० भन्दा बढी मतदाता भएका केन्द्रमा ९ जना कर्मचारी रहनेछन्। अस्थायी मतदान केन्द्रमा भने ५ जना कर्मचारी खटाइने व्यवस्था गरिएको छ। नियमित दरबन्दीबाट कर्मचारी अपुग भएमा संघ, प्रदेश र स्थानीय तहका कर्मचारी प्रयोग गरिनेछ भने आवश्यक परे शिक्षकसमेत निर्वाचन कार्यमा खटाइनेछ। मतदान केन्द्रका कर्मचारीहरू फागुन महिनामा निर्वाचन नजिकिँदै जाँदा परिचालन गरिने आयोगले जनाएको छ।
निर्वाचनमा खटिने कर्मचारीका लागि भत्ता, अतिरिक्त कामको सुविधा र बीमाको व्यवस्था समेत गरिएको छ। मतदान अधिकृतले दैनिक २ हजार ५०० रुपैयाँ, सहायक मतदान अधिकृतले २ हजार रुपैयाँ, सहायक कर्मचारीले १ हजार ६०० रुपैयाँ तथा सहयोगी कर्मचारी र स्वयंसेवकले जनही १ हजार २०० रुपैयाँ भत्ता पाउनेछन्। साथै, निर्वाचनमा संलग्न सबै कर्मचारीलाई जनही २० लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराइनेछ।
निर्वाचन व्यवस्थापनको चालू खर्चतर्फ विभिन्न ४८ शीर्षकमा कुल ६ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको आयोगले जनाएको छ। यी सम्पूर्ण व्यवस्था प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार गरिएको आयोगको भनाइ छ।
