बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित
मकवानपुर । बागमती प्रदेशसभाको सभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भुवन कुमार पाठक निर्वाचित भएका छन् । शुक्रबार प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका शिवराज अधिकारीलाई पराजित गर्दै पाठक सभामुख पदमा निर्वाचित भएका हुन् ।
प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाका अनुसार, ११० जना सदस्य रहेको बागमती प्रदेशसभाको आजको बैठकमा १०९ जना सदस्य मात्रै उपस्थित रहेका थिए । बैठकमा उपस्थित भएकामध्ये पाठकले सभामुख पदका लागि गरेको प्रस्तावको पक्षमा ६२ मत, विपक्षमा ४९ मत र मत दिन्न भन्ने पक्षमा ७ मत परेको थियो । पाठकको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादी केन्द्रका युवराज दुलाल रहेका थिए ।
यस्तै, अधिकारीले सभामुख पदका लागि गरेको प्रस्तावको पक्षमा ३६ मत, विपक्षमा ६५ मत र मत दिन्न भन्ने पक्षमा ७ मत परेको थियो । उनको प्रस्तावकमा कुन्दन काफ्ले र समर्थनमा रामकृष्ण चित्रकार रहेका थिए ।
यस्तै, अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट सृजना सैजुले सभामुख पदका लागि गरेको प्रस्तावको पक्षमा ३ मत, विपक्षमा ६५ र मत दिन्न भन्ने पक्षमा परेको थियो । उनको प्रस्तावकमा गीता काफ्ले र समर्थनमा सुरेन्द्रराज गोरसाईँ रहेका थिए ।
बागमती प्रदेशसभाको अर्को बैठक आजै ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।
