यस्तो रहनेछ आजको मौसम
मकवानपुर । मौसम पूर्वानुमान महाशाखाले तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको र अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको जनाएको छ ।
जसकारण तराईका धेरै क्षेत्रमा हुस्सु र कुहिरोसहित शीतलहर छ । पूर्वी र पश्चिमी तराईमा मध्यान्नपछि क्रमिक रुपमा सुधार गएपनि मध्यतराईमा भने दिनभर कुहिरो लाग्ने गरेको महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा मौसम सामान्यतया सफा छ ।
यस्तै, दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ भने राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भू–भागमा आंशिक बदली हुनसक्ने जनाएको छ ।
