निर्वाचन आयोग : माघ २५ मा राष्ट्रियसभा सदस्यको चुनाव गर्न प्रस्ताव

तु खबर संवाददाता
२०७९ पुष १८, सोमबार १७:११

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको चुनाव आगामी माघ २५ गते गर्न सरकारलाई प्रस्ताव गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा यो प्रस्ताव गरेका हुन् ।

गत मंसिर ४ को निर्वाचनअघि लुम्बिनीबाट निर्वाचित राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि एक सदस्यको पद रिक्त भएको थियो ।

कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएमा बाँकी अवधिका लागि रिक्त भएको मितिले ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले उपनिर्वाचन गराउनुपर्ने व्यवस्था छ ।

आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो बमोजिम मिति तोक्न आयोगले सरकारलाई लिखित परामर्श दिने व्यवस्था अनुसार आउँदो माघ २५ गते बुधबार राष्ट्रियसभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई आयोगले परामर्श दिइएको छ ।’