कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा लामाको उम्मेदवारी दर्ता

तु खबर संवाददाता
२०७९ पुष १३, बुधबार १०:१६

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामाले उम्मेदवारी दर्ता गराएका छन् । संसदीय दलको नेता चयनको आज हुने निर्वाचनका लागि लामाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

लामाले कांग्रेस बागमती प्रदेशको कार्यालय हेटौंडामा गएर उम्मेदवारी दर्ता गराएका हुन् । लामाको प्रस्तावकमा कुन्दनराज काफ्ले रहेका छन् भने समर्थनमा उर्मिला नेपाल, तिर्थबहादुर लामा, रमेशकुमार महत र रामकृष्ण चित्रकार रहेका छन् ।

लामा गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा नुवाकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

लामाले उम्मेदवारी दर्ता गराएसँगै कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि दुई जनाको उम्मेदवारी परेको छ । यसअघि ईन्द्रबहादुर बानियाँले दलको नेताको लागि उम्मेदवारी दर्ता गराएका छन् । बानियाँको समर्थनमा छिरिङ दोर्ज लामा र प्रस्तावकमा प्रभात तामाङ रहेका छन् ।

संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरी निर्वाचन कार्यक्रम संचालन गरिरहेको छ । समितिका अनुसार मतदान कार्य दिउँसो २ बजेबाट सुरु हुनेछ भने मतदाता संख्या ३७ जना रहेका छन् ।