कांग्रेसबाट निर्वाचित गुरुङको सांसद पद निलम्बन
काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित टेकबहादुर गुरुङको सांसद पद निलम्बनमा परेको छ । गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङको सांसद पद निलम्बनमा परेको हो ।
सांसद सचिवालयले मंगलबार एक सूचना जारी गर्दै विशेष अदालतमा सरकारी सम्पत्ति हिनामिना गरेको अभियोगमा मुद्दा खेपिरहेका गुरुङको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्था अनुसार सांसद पद स्वतः निलम्बनमा परेको जानकारी गराएको हो ।
गुरुङमाथि विशेष अदालतमा मुद्दा रहेपनि बिहीबार सांसद सचिवालयले शपथमा सहभागी गराएको थियो । गुरुङको सांसद पद निलम्बनमा राख्न यसअघि अख्तियार दुरुपयोग अनुसन्धान अयोगले सांसद सचिवालयलाई पत्रचार गरेको थियो ।
आयोगले उनीसहित १६ जनाविरुद्ध माघ २०७५ मा विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ । गुरुङलाई अदालतले रु ३१ करोडको बिगो तोकिएको छ ।
