सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई

पत्रपत्रिकाबाट
२०७९ पुष ८,शुक्रबार ०९:०९

काठमाडौं । पावर सेयरिङ’ गर्दै नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनभित्र विकल्पसहितको अनौपचारिक खाका तयार भएको छ । गठबन्धनआबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति गर्नेगरी तीन विकल्पको खाका तयार गरिएको स्रोत बताउँछ । सो खाकामा आज शुक्रबारबाट घनिभूत छलफल हुँदैछ ।

उच्च स्रोतका अनुसार, प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई राष्ट्रपति, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री दिने मोडालिटीमा एउटा खाका बनेको छ ।

त्यस्तै, राष्ट्रपति माओवादी केन्द्र र प्रधानमन्त्री कांग्रेसलाई दिने गरी अर्को मोडालिटी बनेको छ भने राष्ट्रपति नेकपा एकीकृत समाजवादीलाई दिने र प्रधानमन्त्री कांग्रेसले राख्ने गरी तेस्रो मोडालिटी तयार गरिएको छ ।

तर, माओवादी केन्द्र राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न तयार नहुने अवस्थामा तेस्रो मोडालिटीलाई कम महत्व दिइएको स्रोत बताउँछ । औपचारिकरूपमा कांग्रेसले पनि ती दुवै पदमा दाबी गर्दै आइरहेको छ । यो समाचार राजधानी दैनिकमा छ ।