देउवालाई उम्मेदवारी फिर्ता लिन गगनको आग्रह

तु खबर संवाददाता
२०७९ पुष ५, मंगलवार १७:१७

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

थापाले मंगलवार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पार्टीको संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि प्रधानमन्त्री देउवाले आफ्नो उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने बताएका हुन् ।

उनले सभापति देउवाको उम्मेदवारी फिर्ताको निर्णयले सबै नेपाली कांग्रेसहरुमा खुशी र उत्साह हुने बताउँदै प्रधानमन्त्री देउवाले उम्मेदवारी फिर्ता लिनेमा आफू विश्वस्त रहेको बताए ।

यस्तै, उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि कांग्रेसको भविष्यप्रति चिन्ता गर्न आग्रह गरे । उनले संसदीय दलको निर्वाचन पार्टीको आन्तरिक निर्वाचन नभएकाले जनताले खोजेको प्रतिनिधिलाई संसदीय दलमा जिताउन आग्रह गरे ।

महामन्त्री थापाको संसदीय दलको नेताका लागि प्रस्तावकमा डा. शेखर कोइराला रहेका छन् भने समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ रहेका छन् ।

संसदीय दलको निर्वाचन बुधबार बिहान ८ बजेबाट १० बजेसम्म हुनेछ ।