कांग्रेस संसदीय दल निर्वाचन : आज उम्मेदवारी दर्ता

तु खबर संवाददाता
२०७९ पुष ५, मंगलवार ०८:२५

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनअन्तरगत आज उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हो ।

साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए ।

उम्मेदवारी दर्ता शुल्क ५१ हजार रुपैयाँ तोकिएको छ । संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदैछ । बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फको नतिजापछि कांग्रेसले विधानअनुसार दल नेता चयन प्रक्रिया थालेको हो ।

कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेको छ । उनीहरू ‘दलको नेता छान्ने प्रक्रिया’ मा सहभागी हुन पाउनेछन् भने उनीहरूको नाम मतदाता सूचीमा प्रकाशित भइसकेको छ ।

संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार बन्दै छन् भने इतर समूहमा शेखर कोइराला र गगन थापा दुवैको दाबी कायमै छ ।