सांसदको शपथपछि मात्रै दलको नेता चयन गर्ने माओवादीको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसदहरूको शपथपछि मात्रै दलको नेता चयन गर्ने प्रक्रियामा जाने निर्णय गरेको छ । पार्टीको आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारीले उक्त निर्णय लिएको पार्टीका उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
उनका अनुसार, बैठकमा संसद्को जेष्ठ सदस्यले पद तथा गोपनीयताको शपथ खुवाएपछि मात्रै दलको नेता चयन गर्ने निर्णय भएको हो ।
‘अहिले कांग्रेस, एमालेलगायत अरू दलले संसदीय दलको नेता चयन गरेका छैनन् । हामीले हतारमा किन दलको नेता चयन गर्नुप¥यो भन्नेभयो’ गजुरेलले भने, ‘त्यसैले हामीले सबै सांसदहरुले शपथ खाएपछि दलको नेता चयन गरौँ भन्ने निर्णय भयो ।’
