आज यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको जनाएको छ । आज बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका भू–भागमा हुस्सु/कुहिरो रहेको छ ।
यस्तै, आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
साथै, प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राती पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
पहाडी भू–भाग हिमपातको तथा तराईमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।
