तीन महिनादेखि ल्याइएन कोरोनाविरुद्धको खोप

तु खबर संवाददाता
२०७९ पुष २, शनिबार ०९:१५
file-photo

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण घटदै गएपछि भाइरस विरुद्धको खोप ल्याउन छाडिएको छ । तीन महिनादेखि यता नेपालमा कोरोना भाइरस विरुद्धको खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाले बताए । उनका अनुसार कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको सङ्ख्या कम हुनु र नेपालमा ठूलो सङ्ख्यामा खोप मौज्दात भएकाले थप खोप नल्याइएको हो ।

अहिले सङ्क्रमण दर एक प्रतिशतभन्दा पनि कम रहेको छ । मङ्सिर २९ गते सात सय ३० जनाको परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको थियो । त्यो सङ्क्रमण दर भनेको ०.५५ प्रतिशत हो । खोप ७ हजार ९०९ जनाले लगाएका छन् ।