निर्वाचन आयोग : प्रत्यक्षमा भन्दा समानुपातिकमा बदर मत बढी

तु खबर संवाददाता
२०७९ मंसिर २८, बुधबार १७:००

काठमाडौं । प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा मतदाताले प्रत्यक्षतर्फ भन्दा समानुपातिकतर्फ बढी मत बदर भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा समानुपातिक तर्फ मतदान र बदर मत दुवै बढी रहेको देखिएको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको थियो । जसमध्ये १ करोड ४ लाख ८७ हजार ९५८सदर भएको छ भने ५.०६ प्रतिशत मत बदर भएको छ ।

प्रतिनिधि सभाकै समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको छ भने ५.०९ प्रतिशत मत बदर भएको छ ।

प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड १० लाख ३४ हजार ५०० (६१ दशमलव ३६ प्रतिशत) मतदान भएको थियो । जसमध्ये १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको छ भने ४.०७ प्रतिशत मत बदर भएको छ ।

प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भएको छ । बाँकी ६.५५ प्रतिशत मत बदर भएको छ ।