देशभरबाट १७ जना स्वतन्त्र उम्मेदवार विजयी (नामावलीसहित)

तु खबर संवाददाता
२०७९ मंसिर २०,मंगलवार ०८:२६

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभरबाट १७ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । प्रतिनिधि सभातर्फ ५ जना र १२ जना प्रदेश सभातर्फ गरी १७ जना स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार, मधेस प्रदेशमा ६ जना, गण्डकीमा १ जना, लुम्बिनीमा ३ जना, कर्णाली र सुदूरपश्चिममा १÷१ जना गरी १२ जना प्रदेश सभा सदस्य पदमा विजयी भएका हुन् ।

जसमध्ये मधेस प्रदेश सभामा अनिरुद्ध कुमार सिंह, सुरिता कुमारी साह, जवाहर लाल कुशवाहा, केशव राय, शारदा शंकर प्रसाद कलवार र प्रमोद कुमार जयसवाल निर्वाचित भएका छन् ।

यसैगरी गण्डकी प्रदेशसभा सदस्यमा स्वतन्त्रबाटै राजीव गुरुङ निर्वाचित हुँदा लुम्बिनी प्रदेशमा सुरुल पुन, दीपेन्द्र कुमार पुन मगर र खड्ग बस्नेत निर्वाचित भएका छन् । यस्तै कर्णाली प्रदेशसभामा देवेन्द्र बहादुर शाही र सुदूरपश्चिम प्रदेशसभा सदस्यमा तारा प्रसाद जोशी निर्वाचित भएका छन् ।

यस्तै, प्रतिनिधि सभातर्फ मोरङ १ बाट योगेन्द्र मण्डल, सर्लाही ४ बाट अमरेश कुमार सिंह, रौतहट २ बाट किरण कुमार साह, रौतहट ३ बाट प्रभु साह र बर्दिया २ बाट लालवीर चौधरी विजयी भएका हुन् ।