रवि लामिछानेको साधारण सदस्यता खारेजको मागसहित आयोगमा निवेदन दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको साधारण सदस्यता बदर गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज पौडेल ‘सफल’ ले सोमबार आयोगमा निवेदन दर्ता गराएका हुन् ।
उनले उक्त निवेदन दर्ता गर्दै कुनै पनि व्यक्तिले राजनीतिक दल खोल्न र सो दलको साधारण सदस्य हुन, अध्यक्ष वा सभापति हुन समेत नसक्ने कानूनी व्यवस्था विपरित लामिछानेको नेतृत्वमा रास्वपा दर्ता भएको उल्लेख गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल दर्ता भएकोमा आफ्नो कुनै आपत्ति नरहेको समेत प्रस्ट पारेका छन् ।
‘तर नेपाली नागरिकता नै नभएका रबि लामिछानेलाई उक्त दलको सभापतिको मान्यता दिन एवम् सो दलको साधारण सदस्यता समेतको मान्यता दिन नमिल्ने भएको हुँदा निजको सभापतित्व र साधारण सदस्यता निर्वाचन आयोगले खारेज गर्न वा सो गर्न गराउन राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्देशन दिई निज रबि लामिछानेको उक्त दलको सभापति पद र साधारण सदस्यता तत्कालै खारेज गरी पाउन म श्रीमान समक्ष निम्न बुंँदामा निबेदन गर्दछु’, सफलले संविधानको धारा १७ (क) उधृत गर्दै भनेका छन् ।