समानुतिकतर्फ ८० प्रतिशत मतगणना सम्पन्न

काठमाडौं । मंसिर ४ गते भएको सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ ।
सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको अनुमान गरिएकामा सोको ८० प्रतिशत मतगणना हुँदा अब करिब २४ लाख मत उक्त प्रणालीतर्फ गणना हुन बाँकी छ ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एक सय ६५ स्थानमध्ये हालसम्म एक सय ४४ क्षेत्रको मतपरिणाम आयोगको प्रणालीमा प्रविष्ट भइसकेको र हाल बाँकीको गणना भइरहेको जनाएको छ ।
बाजुराको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पिपलचौर मतदान केन्द्रमा यही मंसिर १० गते पुनः मतदान सम्पन्न भएकाले गणना हुन बाँकी छ ।