यी तीन बाहेक सबै जिल्लाको मतपरिणाम मंसिर १३ गतेभित्र सार्वजनिक हुने

तु खबर संवाददाता
२०७९ मंसिर ११,आईतवार १६:१०

काठमाडौं । यही मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । बाजुरा, दोलखा र स्याङ्जाबाहेक अरु सबै जिल्लाको मतपरिणाम मंसिर १३ गतेभित्र सार्वजनिक हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

बाजुरा, दोलखा र स्याङ्जामा देखिएको समस्याका सम्बन्धमा आयोगले आवश्यक निर्णय गरी यथाशीघ्र सबै मतपरिणाम आइसक्ने आयोगको दाबी छ । निर्वाचन आयोगका अनुसार, आइतबार दिउँसोसम्म प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हाँसिल गरेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ ।

त्यस्तै, नेकपा (एमाले) ४१ स्थानमा विजयी भएको छ भने दुई स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले १७, नेकपा (एकीकृत समाजवादी) ले १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले ७/७, जनता समाजवादी पार्टी नेपालले ६ स्थानमा जित हासिल गरेको छ भने एक स्थानमा अग्रता कायम गरेको छ ।

यस्तै, स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टीले तीन स्थानमा विजयी भएका छन् । बाँकी स्थानको केही विवादका कारण निर्वाचन र मतगणनामा भएको ढिलाइ तथा मतगणना स्थागितका कारण समयमै नतिजा आउन सकेको छैन ।