प्रतिनिधिसभा क्षेत्र नम्वर २ को पनि मतगणना सुरु
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर– २ को पनि मतगणना सुरु भएको छ । केहीबेर अघि क्षेत्र नम्वर १ को मतगणना सुरु भएको थियो । क्षेत्र नम्वर १ को बागमती गाउँपालिकाको मतगणना केही बेर अघिबाट सुरु भएको हो ।
क्षेत्र नम्वर २ को भीमफेदी गाउँपालिकाको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।
मतगणनाबारे निर्णय लिन सोमबार बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान ११ बजेबाट मत गन्न थाल्ने निर्णय गरेपनि झण्डै डेढ घण्टा ढिलो गरी मतगणना सुरु भएको हो ।
मतगणना हेटौंडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो । कूल मतदाता संख्या ३ लाख ७३३ रहेको मकजानपुरमा कूल १ लाख ७८ हजार २८२ अर्थात ५९।३ प्रतिशत मात्रै मत खसेको थियो ।
जिल्लाको ३६४ वटै मतदान केन्द्रमा गरी ९२ हजार ८७७ जना पुरुष, ८५ हजार ४०० जना महिला र अन्य ५ जनाले मात्रै मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।
