मकवानपुरमा मतदान सकियोः मतपेटिका ल्याइँदै, गणना भोलि

तु खबर संवाददाता
२०७९ मंसिर ४, आईतवार १८:४९

मकवानपुर । मकवानपुरमा मतदान सम्पन्न भएको छ । मकवानपुरको ३६४ वटै मतदान केन्द्रमा मतदान प्रक्रिया सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।

कति प्रतिशत मत खस्यो भन्ने विषयमा भने एकिन जानकारी आइनसकेको उनले बताए । उनले ५५ प्रतिशत मत खसेको अनुमान गरिएको बताए ।

हेटौंडा–२ स्थित सिद्धार्थ माविमा मतगणनाको तयारी पूरा भएको छ । मतदान केन्द्रहरुबाट मतपेटिका आउन थालेका छन् । अधिकाँश मतदान केन्द्र टाढा भएकाले सबै मतपेटिका आइपुग्न राति अबेर हुने भएकाले मतगणना भने भोलि विहान १० बजेपछि मात्रै गर्ने तयारी गरिएको निरौलाले बताए ।

निर्वाचनको मतगणनालाई सुरक्षित र विश्वसनीय बनाउन मतगणना कक्षमा तारजाली सीसीटीभी जडान गरिएको छ ।

मतगणनाका लागि प्रत्यक समूहमा अधिकृतस्तरको कर्मचारीसहित अन्य ५ जना कर्मचारी रहने गरी ४ वटा समूह बनाइएको छ ।

सुरुमा प्रतिनिधि सभा र प्रदेश सभा दुवैको प्रत्यक्षतर्फको मतगणना गर्ने र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएपश्चात मात्रै समानुपातिकतर्फको मत गणना हुने उनले बताए ।

दुई प्रतिनिधि सभा र ४ प्रदेश सभा रहेको मकवानपुरमा कूल ३ लाख ७७८ मतदाता छन् ।