निर्वाचन आयोगद्वारा शहरी विकास र स्वास्थ्य मन्त्रीलाई कारबाही
काठमाडौं । निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई जरीवानासहित कारबाही गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसुरमा उनीलाई आयोगले जरीवानासहित कारबाही गरेको हो ।
शहरी मन्त्री चौधरीमाथि बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ । चौधरीले आफ्नो क्षेत्रमा बाढी पीडितलाई राहत वितरण गर्ने भन्दै मतदाता प्रभावित पारेको आयोगको भनाइ छ । आयोगले चौधरीलाई २५ हजार रुपैयाँ जरीवाना गरेको हो ।
यस्तै, स्वास्थ्य खापुङलाई पनि आयोगले ५ हजार रुपैयाँ जरिवाना र विभागीय कारबाहीको सिफारिस गरेको छ । उनले निर्वाचन आचारसंहिता लागू भएपछि कर्मचारी सरुवा गरेको आयोगको भनाइ छ । उनीहरूलाई निर्वाचन आयोग ऐनअनुसार जरिवाना गरिएको जनाएको छ ।
