सहज रुपले समाचार सम्प्रेषण गर्ने वातावरण मिलाउन पत्रकार महासंघको आग्रह
काठमाडौं । नेपाल पत्रकार महासंघले आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनमा पत्रकारले सहज रुपमा समाचार सम्प्रेषण गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ ।
महासंघका महासचिव रोशन पुरीले शुक्रबार विज्ञप्ति जारी गर्दै संविधान जारी भएपछिको दोस्रो पटक हुन गइरहेको निर्वाचनको समयमा आमसञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्बाध, सुरक्षित र सहज ढंगबाट समाचार संकलन र संप्रेषण गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन् ।
‘निर्वाचनको समयमा आमसञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्वाध, सुरक्षित र सहजढंगबाट समाचार संकलन र संप्रेषण गर्ने वातावरण निर्माण गर्न तथा मतदान लगत्तै हुने मतगणनाको सहज र सरल तरिकाले समाचार संकलन गर्ने वातावरण बनाउन महासंघ निर्वाचन आयोग र सरकारसँग माग गर्दछु ।’ विज्ञप्तिमा भनिएको छ ।
ुसाथै, महासंघले निर्वाचनका बेला महासंघका सबै सदस्यहरू तथा सञ्चारकर्मीहरूलाई निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पालना गर्दै निर्वाचनको समाचार संकलन र संप्रेषण गर्ने कार्यमा जुट्न पनि आहृवान गरेको छ ।
