मौन अवधिमा प्रचार गरे २५ हजार जरीवाना

तु खबर संवाददाता
२०७९ मंसिर २, शुक्रबार ०८:१०

काठमाडौँ । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भइसकेको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ ।

यस अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नपाइने कानुनी व्यवस्था छ ।

मौन अवधिको उल्लङ्घन गरे आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना हुने आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था रहेको आयोगले जनाएको छ ।