केपी ओलीले मात्रै देशलाई संकटमुक्त गराउन सक्छन्ः कमल थापा

तु खबर संवाददाता
२०७९ कार्तिक २७, आईतवार १६:०१
file photo

मकवानपुर । सूर्य चिन्ह लिएर मकवानपुर निर्वाचन क्षेत्र नम्वर– १ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कमल थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जस्तो दृढ अडान र राष्ट्रवादी सोच भएको नेताले मात्रै देशलाई संकटबाट मुक्त तुल्याउने बताएका छन् ।

राप्रपा नेपालका अध्यक्षसमेत रहेका उनले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसार कार्यक्रम अन्तरगत मकवानपुरको बकैया गाउँपलिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले तत्कालिन समयमा ओलीसँग एउटै सरकारमा रहेर काम गरेको भन्दै सो समयमा आफूहरुले मिलेर गरेका कामहरु अहिले पनि सम्झन लायक रहेको बताए । उनले भने, ‘केपी ओलीसँग एउटै सरकारमा रहेर काम गर्ने अवसर पाएको थिएँ । हामीले भारतले गरेको नाकाबन्दीलाई परास्त गर्न सफल भयौँ ।’

मधेशमा देखा परेको पृथकताबादी आन्दोलन र विप्लवलाई शान्तिपूर्ण वार्तामा ल्याउने काम ओली गरेको प्रशंसा गर्दै उनले लिम्पियाधुरा लिपुलेकसहितको नक्सा ल्याएर ओलीले देशलाई गुण लगाएको बताए ।