‘छोरी दिँदा जसरी सोच विचार गरेर दिन्छौँ, भोट दिँदा पनि त्यसै गरौं’

तु खबर संवाददाता
२०७९ कार्तिक २४, बिहीबार १७:५२

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई दलदलबाट निकाल्न आसन्न निर्वाचनमा राम्रा उम्मेदवारलाई मतदान गर्नुपर्ने बताएका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसार कार्यक्रम अन्तरगत बिहीबार मकवानपुरको बकैया–४ जुरेलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले ३ दशकदेखि सिमित दल र नेताले मुलुकलाई बन्धक बनाएको भन्दै देश बचाउने अभिभारा जनताको काँधमा आएको बताए । उनले भने, ‘३ दशकदेखि सिमित दल र नेताले मुलुकलाई चक्रब्यूहमा फँसाए छ । त्यसलाई बचाउने अभिभारा अब जनताको हो । हामीले जसरी छोरी दिँदा सोच विचार गरेर दिन्छौँ, भोट दिँदा पनि त्यसै गरौं ।’

प्रतिनिधि सभामा ५ वर्ष एक्लै भएपनि राष्ट्रियता र जनताको हितका लागि वकालत गरेको भन्दै उनले निर्वाचनमा जनताले मत दिएर जिताए ओरालो लागेको अर्थतन्त्र सुधार गर्ने, औद्योगिक क्षेत्रको विकास गर्ने र देशमै रोजगारी सिर्जना गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रम राप्रपा मकवानपुरका अध्यक्ष शिवराम थापाको अध्यक्षतामा भएको भएको हो । कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नम्वर–१ का उम्मेदवार दिपकबहादुर सिंह, १ (क) का उम्मेदवार सागर थापा, १ (ख) का उम्मेदवार गुन्जन बहादुर न्यौपाने, समानुपातिकबाट प्रदेशसभा सदस्यका उम्मेदवारहरु क्रमश इन्दिरा न्यौपाने, दिपक खनाल, रामहरी न्यौपाने, रामबहादुर थोकर र प्रतिनिधिसभा २ (ख) का उम्मेदवार बद्री खड्कालगायतले मन्तव्य व्यक्त गरेका थिए ।