कांग्रेसद्वारा ७४ जना बागी उम्मेदवारलाई कारबाही
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ७४ नेतालाई कारबाही गरेको छ । मंगलबार पार्टीको अनुशासन आयोगले विज्ञप्ति जारी गर्दै पार्टी र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने नेता तथा कार्यकर्तालाई कारबाही गरेको जानकारी गराएको हो ।
आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले जारी गरेको विज्ञप्तिमा आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि हटाएको उल्लेख गरिएको छ ।
यस्तै, कांग्रेसले बागी उम्मेदवार, प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावलीहरू समेत अभिलेखबाट हटाइएको जनाएको छ । कांग्रेसले बागी उम्मेदवार तीनका प्रस्तावक एवम् समर्थकको नाम केन्द्रीय अनुशासन समितिमा पठाउन पनि निर्देशन दिएको छ ।
