प्रतिगमनविरुद्ध लड्ने दिन मंसिर ४ : डीना

तु खबर संवाददाता
२०७९ कार्तिक २२, मंगलवार १८:५२

मकवानपुर । मकवानपुरको निर्वाचन क्षेत्र नम्वर १ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवम् नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीनाले प्रतिगमनविरुद्ध लड्ने दिन आएको बताएकी छन् । मंगलबार लोकतान्त्रिक बाम गठबन्धन हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, १७ र १८ को संयुक्त आयोजनामा भएको चुनावी सभा तथा बृहत साँस्कृत कार्यक्रमलाई सम्बोधन गर्दै  सो कुरा बताएकी हुन् ।

उनले हरेक आन्दोलनको दमन गर्नुपर्छ भन्ने व्यक्तिनै हाम्रो सामु उम्मदेवार बनेको बताउँदै भनिन्, ‘प्रतिगमनको विरुद्ध हामी सबै मिलेर लड्ने दिन आएको छ । त्यो भनेको आगामी मंसिर ४ हो ।’ उनले आफु सांसद मात्र नभई मकवानपुरको विकास र युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेको बताएकी छन् ।

उनले आफुले समानुपातिकबाट सजिलै सांसदको टिकट पाउने भएपनि प्रत्यक्ष रुपमा चुनाव लडेर मकवानपुरको विकास गर्नको निम्ति चुनावी मौदानमा होमिएको बताइन् । उनले मकवानपुरमा स्थानीय तहको बजेटले विकास गर्न नपुगेको बताउँदै आसन्न निर्वाचनमा आफुले जितेको खण्डमा केन्द्रको बजेट ल्याउन पहल बताइन् ।

गठबन्धनको सरकारले कृषिमा ७० प्रतिशत बजेट छुट्याएको भएपनि नक्कली कृषकले उपभोग गरेको भन्दै अब आफुले वास्तविक कृषकको खल्तीसम्म अनुदान पुर्याउने प्रतिवद्धता जनाइन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनताको मर्म र मान्यतालाई नबुझीे संसद विघटन गरेको आरोप लगाउँदै संविधानको रक्षाको लागि विभिन्न राजनीतिक दलहरु मिलेर लोकतान्त्रिक गठबन्धनको स्थापना भएको उनको भनाई छ ।

उनले जनजाति, महिला, सिमान्तकृतलगायत समयुदायको अधिकारका लागि आफुले २०४७ सालमा गैर सहकारी संघ खोलेर महिला सक्षमअभियान सुरु गरेको स्मरण गराउँदै आगामी दिनहरुमा पनि महिलाहरुको परिवर्तन र विकासको लागि आफुले कदम चालिरहने बताइन् ।

गठबन्धनको नेतृत्वमा सरकार बनेको खण्डमा स्वास्थ्य, शिक्षा, रोजगारलगायत भौतिक विकासमा आमुल परिवर्तन आउने उनले बताइन् । साथै उनले मकवानपुरमा गठबन्धनले मात्रै महिला उम्मेदवार बनाएको भन्दै आफुलाई मतदान गर्न सबैलाई आग्रह गरिन् ।