‘भ्रष्टाचारको अन्त्य गर्न म राजनीतिमा आएको हुँ’
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने देशमा भएको भ्रष्टाचार अन्त्य गर्न आवश्यक रहेकोले आफु राजनीतिमा आएका बताएका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका निर्वाचनको चुनावी प्रचार–प्रसार कार्यक्रम अन्तरगत मंगलबार हेटौंडामा भएको सभालाई सम्बोधन गर्दै उनले सो करा बताएका हुन् ।
उनले ठूला राजनीतिक दलको झुटा आश्वासन धेरै हेरिएको भन्दै आसन्न निर्वाचनमा मत फेर्न सबैलाई आग्रह गरे । उनले भने, ‘ठूला राजनीतिक दलको झुटा आश्वासन यसभन्दा अघि पनि धेरै हेरियो, अब मत फेर्ने समय आएको छ ।’
वैदेशिक रोजगारीमा गएका यूवाहरुलाई नेपाल फर्क अभियान नै संचालन गरेर देशमै स्वरोजगार श्रृजना गर्ने योजनासहित राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढेको उनको भनाई छ ।
उनले निर्वाचनमा विजयी भएपनि नभएपनि समस्या पर्दा सबैलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै उनले समाजमा चेलिबेटीमाथि भएको विभेद अन्त्य गर्न सधै आवाज उठाउन बताए ।
उनले महिलाहरुलाई आत्मनिर्भर बनाउन आफ्नो पार्टी आसन्न निर्वाचनमा महिला उम्मेदवारलाई बढी प्राथमिकता दिएको बताए ।
