सशस्त्र प्रहरीद्वारा १३ लाखको सामान बरामद
वीरगञ्ज । सशस्त्र प्रहरीले एक सातामा पर्साबाट झण्डै १३ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वार्टर पर्सा र मातहतमा रहेका बोर्डर आउट पोष्ट, सुरक्षा बेस क्याम्पले एक सातामा १२ लाख ७० हजार रुपैयाँको सामान बरामद गरेको जनाइएको छ ।
सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वार्टर पर्साका अनुसार, गत कात्तिक १२ गतेदेखि १९ गतेसम्म कपडा, चिनी, कस्मेटिक तथा हार्डवेयरका सामान, माछा, सुर्तीलगायत १२ लाख ७० हजार रुपैयाँको सामान बरामद गरेको हो ।
वीरगञ्ज भन्सार मेनगेट, अलौ, छपकैया, ड्राइपोर्ट, बहुअर्वाभाठा, ठोरी, जिराभवानीलगायतका स्थानहरुबाट भन्सार छली चोरी पैठारी भइरहेका सामान बरामद गरिएको हो । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइसकिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
