एमालेको चुनावी घोषणापत्र सार्वजनिक
काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेको चुनावी घोषणापत्र सार्वजनिक भएको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट घोषणा सार्वजनिक गरेका हुन् ।
घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ ।
सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले भने संविधानको रक्षालाई मूल नारा बनाएर यस अघिनै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन ।
