आसन्न निर्वाचनका लागि कात्तिक १७ देखि जुलुस र आमसभा गर्न पाइने

तु खबर संवाददाता
२०७९ कार्तिक १४, सोमबार १६:४५

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी गराएका हुन् ।

आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।

उक्त दफा १३ (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र संचारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ ।

आचारसंहिताको प्रभावकारी कार्यान्वयन भए वा नभएका सम्बन्धमा निर्वाचन आयोग र जिल्ला आचारसंहिता अनुगमन समितिबाट भएको अनुगमन, उल्लङ्घनका घटनाबारे प्राप्त उजुरी तथा जानकारीका आधारमा स्पष्टीकरण सोध्ने र जवाफ आउनेक्रम जारी रहने आयोगले जनाएको छ ।