कांग्रेसको घोषणापत्रः सुत्केरी भत्ता ५ हजार पुर्याइने, ६५ वर्षमै बृद्ध भत्ता

तु खबर संवाददाता
२०७९ कार्तिक १२, शनिबार १६:१८

काठमाडौँ । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
घोषणापत्रमा सुत्केरी भत्ता ५ हजार रुपैँया पुर्याउने कांग्रेसले उल्लेख गरेको छ । शनिबार सार्वजनिक चुनावी घोषणापत्रमा बृहत् लक्ष्य नाम दिएर कोखदेखि शोकसम्मका विभिन्न कार्यक्रमहरु ल्याउने उल्लेख छ । जहाँ सुत्केरी भत्ताको विषय उल्लेख गरिएको छ ।

चालु आर्थिक बर्षबाटै सरकारले मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिँदै आएको छ ।

घोषणापत्रमा ३/७३ को नारा दिँदै कोखदेखि शोकसम्मका विभिन्न कार्यक्रमहरू ल्याउने घोषणा गरिएको छ । तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने भन्दै कांग्रेसले ३/७३ को नारा दिएको हो ।

त्यस्तै ज्येष्ठ नागरिक भत्ता (बृद्ध भत्ता) ६५ वर्षमै दिइने घोषणा गरेको छ । कांग्रेस नेतृत्वको वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटदेखि ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिँदै आएको छ । तर कांग्रेसले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सार्वजनिक गरेको घोषणापत्रमा ६८ वर्ष गेकालाई दिइने ज्येष्ठ नागरिक भत्ता क्रमशः ६५ वर्षमा झारिने उल्लेख गरेको हो ।