कांग्रेसको घोषणापत्र सार्वजनिकः १२ लाखलाई नयाँ रोजगारी दिइने
काठमाडौँ । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि शनिबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
कांग्रेसले आगामी पाँच वर्षमा साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ ।
त्यस्तै सूचनाप्रविधि, उद्योग, पर्यटन, निर्माण यातायातलगायतका क्षेत्रमा वार्षिक साढे २ लाख नयाँ रोजगारी सिर्जना गर्ने कांग्रेसले बाचा गरेको हो ।
नेपाल श्रमशक्ति सर्वेक्षणको आँकडाअनुसार नेपालका करिब ७० लाखभन्दा बढी जनसंख्या विभिन्न रोजगारी र स्वरोजगारमा आवद्ध छन् भने वार्षिक पाँच लाख हाराहारी जनशक्ति श्रम बजारमा आउने गरेका छन् । तर, २०७७÷७८ मा दर्ता भएका २०३ नयाँ उद्योगले जम्मा ११ कजार ८३३ रोजगारी मात्र प्रस्ताव गरेको छ भने लोकसेवा आयोगले तीन हजार ७५४ जनाको मात्र विज्ञापन गरेको छ ।
त्यस्तै उद्योग, निजी क्षेत्रका छाता संगठन, तीन तहको सरकार र सीटीईभीटीको सामूहिक पहलमा अप्रेनटिससीप कार्यक्रम र रोजगारी सिर्जनाका लागि बजारले मागेको युवाले रोजेको तरुण सीप वृत्ति कार्यक्रम ल्याउने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।
