सहकारीका कर्मचारीमाथि गोली प्रहार
काठमाडौं । सर्लाहीमा एक सहकारीका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । बुधबार बिहान सवा ११ बजे बागमती नगरपालिका वडा नम्बर १ मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गोली प्रहारबाट लालबन्दी नगरपालिका वडा नम्बर २ जुटपानीका ३० वर्षीय साजन कार्की घाइते भएका छन् । उनीमाथि आफ्नै कार्यालयमा काम गरिरहेको बेलामा तीन जनाले गोली प्रहार गरेर भागेका थिए ।
अज्ञात समूह भारतीय नम्बरको निलो रंगको मोटरसाइकलमा चढेर फरार भएका छन् । गोली हानेर भागेको भन्ने खबर पाएपछि प्रहरी टोलीले उनीहरूको खोजी गरिरहेकोजनाएको छ ।
घाइतेको हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि काठमाडौं रिफर गरिएको छ । उनीमाथि तीन राउन्ड गोली प्रहार भएको छ । उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली प्रहार भएको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम छ । उनलाई थप उपचारको लागि जहाजबाट काठमाडौं लैजाँदै गरेको जनाइएको छ ।
