कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने

तु खबर संवाददाता
२०७९ कार्तिक १, मंगलवार १७:४९

काठमाडौं । नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो ।

संयोजकसहित ७ वटै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको समितिका सदस्य समेत रहेका नेता आनन्दप्रसाद ढुंगानाले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले सबै क्षेत्रमा उम्मेदवारी नदिएकाले समानुपातिकतर्फको मत घट्न सक्ने उल्लेख गर्दै त्यसमा विशेष ध्यान दिएर निर्वाचन परिचालनको काम गर्नुपर्ने सुझाव दिएका थिए । त्यसैगरी, बैठकमा पार्टीको चुनावी घोषणा पत्र आएपछि त्यसको प्रचारको कामलाई प्रभावकारी बनाउन पनि लागि गर्ने धारणा समितिका सदस्यहरुबाट आएको नेता ढुंगानाले बताए ।

पार्टीको आन्तरिक निर्वाचन परिचालनको कामलाई प्रभावकारी बनाउनका लागि नेता गोपालमान श्रेष्ठ नेतृत्वमा कांग्रेसले ११० सदस्यीय केन्द्रिय निर्वाचन परिचालन समिति गठन गरेको छ । सत्तारुढ गठबन्धनले यस अघिनै का)ंग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचन परिचालन समितिको संयोजक तोकिसकेको छ ।