साहित्यकार सञ्जय मित्र सम्मानित

रौटहट । साहित्यकार सञ्जय मित्र सम्मानित भएका छन् । बज्जिका दिवसको अवसरमा भारत बिहारको मुजफ्फरपुरमा रहेको तथागत सांस्कृतिक फाउण्डेसन तथा अरुणादित्य ट्रस्टले साहित्यकार मित्रलाई सम्मान गरेको हो ।
रौतहटमा नेपाली तथा मातृभाषा बज्जिकामा साहित्य सिर्जना गरिरहेका साहित्यकार साह महाकवि अवधेश्वर अरुणबाट सम्मानित भएका हुन् । नेपाली र बज्जिका भाषामा करिब डेढ दर्जन कृति प्रकाशन गरिसकेका साहित्यकार मित्रलाई नेपालमा मधेस प्रदेश र बागमती प्रदेशका दर्जनौँ संघसंस्थाहरूले सम्मानित गरिसकेका छन् ।
साहसँगै दुई भारतीय साहित्यकार पनि सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा हिन्दी तथा बज्जिका भाषाका साहित्यकारद्वय डा. विद्या चौधरी र अखौरी चन्द्रशेखर रहेका छन् ।
कार्यक्रम विशिष्ट अन्वेशक तथा समालोचक डा. रामेश्वर प्रसादको अध्यक्षता तथा बज्जिकाञ्चल विकास पार्टीका राष्ट्रिय अध्यक्ष देवेन्द्र राकेशको प्रमुख आतिथ्य रहेको थियो ।
प्रा.डा. अरुणको जन्म दिवसको अवसरमा भारतमा १४ अक्टुबरलाई बज्जिका दिवसको रुपमा मनाइन थालिएको छ ।