राप्रपाले टुंग्यायो निर्वाचनका लागि उम्मेदवारको नाम
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सबै जिल्ला कार्य समितिले दुबै निर्वाचनका लागि पठाएका करिब सात सय उम्मेदवारमध्येबाट प्रतिनिधि सभामा १६५ र प्रदेश सभामा ३३० उम्मेदवार केन्द्रले छनोट गरेको छ ।
विभिन्न राजनीतिक दलबाट तालमेलका लागि प्रस्ताव आइरहेकाले जिल्लाको वस्तुस्थितिका आधारमा जुनसुकै राजनीतिक दलसँग पनि तालमेल गर्न पार्टीले जिल्ला समितिलाई सुझाव दिएको छ ।
समान विचार भएका केही दल तथा समूहसँग एकताका लागि पार्टीले आग्रह गरेकाले पनि परिवर्तित अवस्थामा केही पार्टीसँग तालमेल हुनसक्ने छ । त्यसरी तालमेल भए केही निर्वाचन क्षेत्रका नाम परिवर्तन हुनसक्ने नेता सुन्दर पाण्डेले जानकारी दिए ।
