मकवानपुरमा २७४५ जनाले दिए म्यादी प्रहारीका लागि आवेदन

तु खबर संवाददाता
२०७९ आश्विन ९, आईतवार ०९:२३
file-photo

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा म्यादी प्रहरीमा भर्ना हुन २७ सयभन्दा बढीले आवेदन दिएका छन् । जिल्लामा म्यादी प्रहरीमा भर्ना हुन २ हजार ७ सय ४५ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गत भदौ ३० गतेदेखि असोज ६ गतेसम्मका लागि आवेदन दिन आव्हान गरिएकोमा १ हजार ९ सय २३ जना पुरुष तथा ८ सय २२ जना महिलाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

आवेदन दिनेहरुमा सर्वसाधरणहरुबाट १ हजार ७ सय ८४ जना रहेका छन् । जसमा ५ सय महिला र १ हजार २ सय ८४ पुरुष रहेका छन् । यसैगरी, ३२२ महिला र ५९३ जना पुरुष गरी ९१५ जना पूर्व म्यादी रहेका छन् भने २९ जना पूर्व नेपाली सेनाका, १३ जना पूर्व प्रहरी, ४ जना पूर्व सशस्त्र प्रहरीले आवेदन दिएका छन् ।

म्यादी प्रहरीले गाडी भाडा बापत १ हजार रुपैयाँ भत्ता स्वरुप पाउँछन् । निर्वाचन क्षेत्रमा आउन र जाने खर्चका लागि अर्थ मन्त्रालयले १ हजार भत्ता दिने निर्णय गरेको छ । तलब बापत म्यादी प्रहरीले ४० दिनमा ३४ हजार ७६० रुपैयाँ पाउँछन् ।

हिमाली जिल्लामा भने रासन सुविधा त्यहीँको दररेट अनुसार पाउनेछन् । रासन बापत एकमुष्ट ७ हजार २ सय रुपैयाँ उपलब्ध गराउन अर्थ मन्त्रालयले स्वीकृति दिएको जनाइएको छ । कपडा किन्न म्यादी प्रहरीले ६ हजार रुपैयाँ पाउँछन् । म्यादीले ६ हजार भित्रबाट दुई जोर डांग्री, जुत्ता, दुई जोर मोजा, टोपी र सिट्टी कर्ड किन्नुपर्छ ।