कर्मचारी सरुवा रोक्न आयोगको निर्देशन

तु खबर संवाददाता
२०७९ आश्विन ७, शुक्रबार १०:११

काठमाडौं । निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि अस्थायी मतदाता नामावलीमा कर्मचारीको नाम समावेश गर्ने प्रक्रिया सुरु भएको जनाउँदै आयोगले विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी तत्काल सरुवा नगर्न निर्देशन दिएको हो ।

कर्मचारीको सरुवा नरोकिँदा निर्वाचन व्यवस्थापनमा समेत प्रतिकूल प्रभाव पर्ने भन्दै आयोगले निर्वाचन सम्पन्न भएसम्मका लागि अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न निर्देशन दिएको हो ।

यही असोज ५ गतेसम्म सरुवा भइसकेको अवस्था भए तत्काल रमना दिई असोज ९ गतेभित्र सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नेपाल सरकार, सबै प्रदेश सरकार र सबै स्थानीय तहलगायत सबै सार्वजनिक निकायलाई निर्देशन दिइएको आयोगले जनाएको छ ।