निर्वाचन आयोग : अन्तिम मतदाता नामावली सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि शुक्रबार अन्तिम नामावली सार्वनिक गरेको हो ।
आयोगका अनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । यो सख्या साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गराएकाको हो । आयोगका अनुसार कुल संख्यामध्ये ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख ४० हजार ८०६ पुरुष र १८५ जना अन्य रहेका छन् ।
यस्तै, १० हजार ८९१ मतदान स्थल र २२ हजार २२६ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । प्रदेशअनुसार सबैभन्दा धेरै मतदान केन्द्र मधेस प्रदेशमा रहेका छन् । त्यहाँ ४ हजार २३५ मतदान केन्द्र निर्धारण गरिएको छ ।
यस्तै, बागमतीमा ४ हजार १४३, प्रदेश १ मा ४ हजार ९९, कर्णाली प्रदेशमा १ हजार ४०३, सुदूरपश्चिम प्रदेशमा २ हजार १४६ र गण्डकी प्रदेशमा २ हजार ३३९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
