आसन्न निर्वाचनका लागि मतपत्र छपाइको कार्य सुरु

तु खबर संवाददाता
२०७९ भाद्र २८, मंगलवार १७:११

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि मतपत्र छपाइको कार्य सुरु भएको छ । निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छपाइको कार्य सुरु गरेको हो ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार, नमूना मतपत्र छाप्ने कार्य सम्पन्न भएपछि समानुपातिकको मतपत्रको प्रक्रिया अगाडि बढाइएको हो । आयोगले यही भदौ १५ गतेदेखि आगामी असोज १ गतेसम्म उम्मेदवारको नामको बन्द सूची तयार गर्न राजनीतिक दललाई समय तोकेको छ ।

दलले असोज २ र ३ गते आयोगमा बन्द सूचीमा रहेका उम्मेदवारको नाम पेश गर्नुपर्ने छ । सम्बन्धित पार्टीले सूचीमा रहेका उम्मेदवारको नाम सञ्चाउन चाहेमा असोज ४ देखि ९ गतेसम्म गर्नुपर्ने र त्यसका आधारमा आयोगले १० देखि १६ गतेसम्म संशोधनको समय सिमा राखेको छ । त्यस्तै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा १७ गतेको तालिका तय गरिएको छ ।

रिक्त स्थानमा परिवर्तन गर्नुपर्ने नाम दलले २० देखि २२ गतेसम्म आयोगमा बुझाउनुपर्ने व्यवस्था छ । त्यस्तै, २३ देखि २९ गतेसम्म दावी विरोधका लागि समय राखिएको छ । यही असोज ३० देखि कात्तिक ५ गतेसम्म आयोगले जाँचबुझ गरी ८ गते सूचीबाट नाम हटाउने छ । आयोगले कात्तिक ९ गते अन्तिम नाम प्रकाशन गर्ने कार्यतालिका छ ।