१ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो

तु खबर संवाददाता
२०७९ भाद्र २६, आईतवार ०८:४१
file-photo

काठमाडौं । नेपाल प्रहरीले म्यादी प्रहरीको लागि भर्ना खुल्ला गरेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि भर्ना खुलेको हो ।

इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक विदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ ।

म्यादी प्रहरी छनोटमा स्थानीय तह वा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४ वा स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरूलाई बढी प्राथमिकता दिने जनाइएको छ ।

आवेदक दरखास्त फारम दर्ता गर्न १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको, आतङ्ककारी सङ्गठनको सदस्य नरहेको, आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको, पुरुषको हकमा घटीमा उचाइ ५ फिट २ इन्च, छाती ३१–३३ इन्च, तौल ५० केजी र महिलाको हकमा घटीमा उचाइ ५ फिट, तौल ४२ के।जी। भएको तथा गर्भवती नभएको हुनुनपर्नेछ ।