आसन्न निर्वाचनको लागि आजदेखि समानुपातिक मतपत्र छाप्ने

तु खबर संवाददाता
२०७९ भाद्र २५, शनिबार ०९:१०

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनको लागि आजबाट चार वटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिक तर्फको मतपत्र छाप्ने भएको छ । आयोगले प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र छाप्ने भएको हो ।

चार वटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगले जनाएको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छाप्दै आएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक तर्फको नमुना मतपत्र छपाइ सकिए लगत्तै प्रदेश सभा सदस्यको समानुपातिक तर्फको मतपत्र छपाइ सुरु हुने जानकारी दिए ।

आयोगले बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र भने पछिल्लो चरणमा छाप्ने योजना बनाएको जनाएको छ । आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ करिब २० लाख नमुना मतपत्र छाप्ने भएको छ ।

आयोगले भदौ २१ गतेबाट नमुना मतपत्र छाप्न सुरु गरेको हो । देशभरीका ७५३ वटै पालिकामा नमुना मतदान गर्ने योजना बनाएको आयोगले सोही बमोजिम मतपत्र छापेको हो ।