आजको मौसम : यी स्थानहरुमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७९ भाद्र १९, आईतवार ०८:३४
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार, आज दिउँसो प्रदेश नं. १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं.१ का एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राती पनि प्रदेश नं १, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मध्यम तथा भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।