कांग्रेसद्वारा मकवानपुरका पालिकास्तरमा भेला तथा अन्तरक्रिया कार्यक्रम
मकवानपुर । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै देशव्यापी सुरुवात गरेको ‘जनताको साथमा कांग्रेस’ अभियानले मकवानपुर जिल्लामा पनि तीव्रता पाएको छ । भदौ १२ गते मकवानपुर जिल्लाको १०२ वडामा क्रियाशील भेला गरेर सुरु भएको अभियानअन्तर्गत् बुधबार जिल्लाभर पालिकास्तरमा भेला तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।
अभियानअन्तर्गत् नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिको आयोजनामा बुधबार हेटौंडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी नेता तथा क्रियाशील कार्यकर्ताहरुले पार्टीले चुनाव केन्द्रित मात्र कार्यक्रम हुन नहुने, पटक–पटक गठबन्धन गरेर चुनावमा जाँदा मत माग्न असहज भएको, प्रशिक्षण कार्यक्रमहरु राख्नुपर्ने, पार्टीमा गुटगत राजनीति तल्लो तहसम्म फैलिएकोले त्यसको न्यूनीकरण हुनुपर्ने, पार्टीले दिने अवसरहरु समान र न्यायोचित हुनुपर्ने सुझावहरु दिएका थिए ।
यस्तै, चुनावी अनुगमन समिति गठन गरी गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, विभिन्न विभागहरुलाई पूर्णता दिएर सबैलाई पार्टीमा भूमिका निर्वाह गर्ने वातावरण बनाउनुपर्नेलगायत सुझावहरु व्यक्त गरेको नगर सचिव हर्करत्न लामाले जानकारी दिए ।
नगर सभापति उत्सव इटेनीको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टी मकवानपुर जिल्ला उपसभापति आनन्द कठायत, पूर्वसभापति माइकल रामचन्द्र अर्याल, निवर्तमान कार्यबाहक सभापति विष्णुप्रसाद लामिछाने, जिल्ला सहसचिव इन्दिरा न्यौपाने, महासमिति सदस्य अशोक शाक्य, जिल्ला सदस्य तथा नगरका निवर्तमान सभापति आनन्दराम पराजुली, प्रतिनिधिसभा १ प्रदेश ‘ख’ का सभापति तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँलगायतले कांग्रेस पार्टी जनताको तल्लो तहको समस्यालाई समाधान गर्न लाग्ने पार्टी भएकोले सोहीअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
अभियानअन्तर्गत् आज बिहीबार प्रदेशसभाअन्तर्गत् क्षेत्रीय समितिको आयोजनामा समाजवादी चिन्तक पार्टीका नेता स्व. प्रदीप गिरीको श्रद्धाञ्जली सभा आयोजना गरिने कार्यक्रम तय भएको नगर सचिव सविन न्यौपानेले जानकारी दिए ।
केन्द्रीय परिपत्रअनुसारको अभियानअन्तर्गत् १८ गते प्रतिनिधिसभा क्षेत्रीयस्तरको भेला, २० गते भ्रातृ तथा शुभेच्छुक संगठनहरुको आयोजनामा भेला हुनेछ भने २१ गतेदेखि २३ गतेसम्म जिल्लामा प्रतिवेदन बुझाउने र प्रतिवेदनमा उठेका विषयहरुमाथि छलफल गरी २४ गते वीपी जयन्तीको दिनमा जिल्लास्तरीय कार्यक्रम गरी पहिलो चरणको अभियान सम्पन्न गरिने पार्टीले जनाएको छ ।
