एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०७९ भाद्र ११, शनिबार ०९:३४
file-photo

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा आज पनि बस्दैछ । बैठक बिहान १०ः ३० बजेदेखि सुरु हुनेछ । उक्त बैठकमा समूहगत छलफलले निरन्तरता पाउने भएको जनाइएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौ समूह बनाइएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि आजै निष्कर्ष सुनाइने छ ।

हिजोको बैठकमा अमृतकुमार बोहोराले सल्लाहकार परिषद्को, केशव बडालले केन्द्रीय अनुशासन आयोगको, पुष्प कँडेलले लेखा आयोगको र विजय सुब्बाले निर्वाचन आयोगको प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए ।

यसैगरी, उपाध्यक्ष विष्णु पौडेलले कार्यदलका तर्फबाट गत स्थानीय निर्वाचनमा पार्टीभित्र देखापरेका समस्याहरु छानबिनका लागि बैठकलाई जानकारी गराएका थिए ।